सोलुखुम्बु । सोलुखुम्बुको अग्रणी शैक्षिक संस्था सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीले एक सय जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ । कक्षा ११ र १२ का गरी सय जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाएको क्याम्पस प्रशासनले जनाएको छ ।
यो वर्ष क्याम्पसमा शिक्षा, वाणिज्य र मानविकी संकायमा अध्ययन गर्न इच्छुक कक्षा ११ का ५० जना विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव कुमार शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, अर्को वर्ष अर्थात २०८१ सालमा कक्षा १२ मा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई निशुल्क भर्ना गरि अध्ययनको व्यवस्था मिलाइने क्याम्पस प्रमुख शर्माले बताउनुभयो । निःशुल्क अध्ययन गर्न ईच्छुक विद्यार्थीले यही साउन मसान्तसम्म भर्ना गरिसक्न क्याम्पस प्रशासनले आग्रह गरेको छ ।
विद्यार्थीले निःशुल्क अध्ययनका लागि आफु गरिब तथा जेहेन्दार विद्यार्थीको भएको कुरा खुलाउने गरि आफुले अध्ययन गरेको विद्यालय, वडा तथा पालिकाबाट सिफारिस ल्याउनुपर्ने जनाइएको छ ।