सोलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिकाले जिल्लामै पहिलो पटक निःशुल्क शव वाहन सञ्चालन गर्ने भएको छ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले हाल संचालनमा रहेका ४ वटा एम्बुलेन्स मध्ये एउटालाई शव वाहनका रूपमा प्रयोग गर्ने निर्णय गरेको नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । जिल्लाभरी नै हालसम्म पनि कुनै पनि शव वाहन नभएकोले विभिन्न समयमा सोलुबासीले सास्ती खेप्नुपरेको अवस्थालाई मध्यनजर गर्दै उक्त समस्या समाधानका लागि यस्तो निर्णय गरिएको नगरप्रमुख शेर्पाले बताउनुभयो।
बैठकले गत आर्थिक बर्षमा नगरकार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयनको समिक्षा गर्दै करिब ९५ प्रतिशत कार्यान्वयन भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षमा १७२ वटा निर्णय गरेकोमा १६३ वटा निर्णय कार्यान्वयन भइसकेको र ९ वटा कार्यान्वयनको क्रममा रहेको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जानकारी दिनुभयो।
त्यस्तै, पछिल्लो समय पशुचौपायमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप र औषधिको थप ब्यबस्था गर्ने निर्णय भएको छ।
हालसम्म नगरपालिकाका ११ वटै वडामा गरी कुल सात हजार १० वटा पशुमा लम्पी स्किन खोप लगाई सकिएको र रोगबाट ६०६ वटा संक्रमित र २२ पशुको मृत्यु भएको बताइएको छ।
बैठकले जनै पुर्णिमामा सोलुदुधकुण्ड नगरपालिका १ दुधकुण्डमा लाग्ने मेला व्यवस्थापनका लागि शान्ति सुरक्षा, स्वास्थ्य शिविर लगायतको आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।