सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार शनिबारबाट विशेष आन्तरिक अभियान सुरु गरेको हो । अभियानका लागि केन्द्रीय प्रतिनिधि एवं पार्टी केन्द्रीय सदस्य शुशीला ढकाल आचार्यले अभियानले पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाएर त्यसलाई सुधार गर्ने र पार्टीलाई गतिशील बनाउने बताउनुभयो ।
कांग्रेसलाई एक्काइसौं शताब्दीको गतिशील, चलायमान, सवल तथा सक्षम बनाउन अभियानले सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले कुनै गुट, उपगुटका कुरा नगर्न सबैलाई आग्रह गर्नुभयो । क्षेत्रीय, प्रदेश, पालिका र वडासम्म पार्टीलाई चलायमान बनाउन यो अभियान सफल हुने उहाँको विश्वास छ ।
नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाले पदका लागि केन्द्रमा बसेर नेताहरुको चाकडी गर्ने तर जिल्लाको संगठन विस्तारमा नखट्ने कार्यकर्ताको पार्टीले मुल्यांकन गर्ने बताउनुभएको छ । संघ र प्रदेश निर्वाचनमा टिकट वितरण गर्दा केन्द्रले जिल्लासँगको समन्वयमा चुक्दा पार्टीले अपेक्षित नतिजा हात पार्न नसकेको जानकारी गराउनुभयो ।
उहाँले जनताको भावना र चहाना विपरित पार्टी चल्न नसक्ने भएकाले संगठन सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ लिएर निरन्तर रुपमा अब गाउँ गाउँ र टोल टोलमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । जसका लागि वडा, पालिका, प्रदेश, क्षेत्रमा बैठक गर्ने, पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्थालाई क्रियाशील बनाउने उहाँले बताउनुभयो ।
यो अभिभयान निश्चित समयका लागि सुरु भएको भन्ने भ्रमलाई फालेर आजैदेखि निरन्तर रुपमा सक्रिय हुन सभापति शेर्पाले निर्देशन दिनुभयो । कार्यक्रममा उपस्थित नेता कार्यकर्ताले पार्टीको केन्द्रदेखि नै गुटउपगुट मौलाउँदा जिल्लामा पनि त्यसको असर देखा परेको बताएका छन् ।
निर्वाचनमा अन्तरघात र मेइमानी गर्ने विरुद्ध पार्टी नेतृत्व निर्मम ढंगले अघि बढ्नुपर्ने नेता तथा कार्यकर्ताहरुले जोडदार माग गरेका छन् । कार्यक्रममा पार्टीका वडा, पालिका, प्रदेश, क्षेत्रमा बैठक गर्ने, पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्था, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पुर्वजनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।