सोलुदुधकुण्डले अनुदानमा काष्ठ तथा फलफूल खेतीका लागि माग्यो आवेदन

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले स्याउ, किबी र ओखर खेती गर्न चहाने कृषकबाट आवेदन माग गरेको छ।

एसियाली विकास बैङ्क, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र नेपाल सरकारको संयुक्त बजेटबाट पहिलो चरणमा लागु हुन लागेको पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत खेती गर्न इच्छुक कृषकहरुलाई आफ्नो वडा कार्यालयमा विवरण उपलब्ध गराउन नगरपालिकाले आग्रह गरेको छ।

कार्यक्रम सञ्चालनका लागि ७५३ स्थानीय तह मध्ये एक सय वटा स्थानीय तह छनौट भएपनि यसको कार्यान्वयनको सुरुवात गर्ने सोलुदुधकुण्ड पहिलो नगरपालिका भएको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो।

यस कार्यक्रममार्फत फलफूल तथा काष्ठफल खेती गर्न चहाने एकै ठाउँ वा नछुट्टिएको कम्तीमा २० रोपनी जग्गा भएका कृषक, कृषि समूह, निजी कृषि फर्म तथा सहकारीले स्याउ,ओखर तथा किवीको व्यावसायिक खेती गर्दा कूल लागतमध्ये ५० प्रतिशत अनुदान प्राप्त गर्ने नगरप्रमुख शेर्पाले बताउनुभयो।

स्थानीय कृषकहरुलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले अघिल्लै कार्यकालमा आफुले पहल गरेर छनौट हुन सफल भएपनि यसको कार्यान्वयन बल्ल सुरु भएको शेर्पाको भनाइ छ।

सम्बन्धित वडाबाट परेका निवेदनबाट आयोजनामा सहभागी हुने कृषक र समूहको छनौट गरि नगरपालिकाले अनुदानका लागि सिफारिस गर्ने जनाइएको छ।

निवेदनमा उल्लेख गरिएको विवरण सम्बन्धित वडाको कृषि प्राविधिकले पाथवे टेक्नोलोजीस एन्ड सर्भिस प्रालिले बिकास गरेको नाफा एपमा सबै विवरण स्टोर र ल्याण्ड म्यापिङ गर्ने कृषि शाखा प्रमुख पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार