खबरदार ! जनतालाई भेडा ठान्नेहरु, तिम्रा हालत पनि चाउसेस्कुको जस्तै नहोस्

डिल्ली बसेल

सन् १९८९ डिसेम्बर २० तारिखमा रुमानियाका राष्ट्रपति एवं कम्युनिष्ट पार्टीका महासचिव निकोलाई चाउसेस्कु ईरानको राजकीय भ्रमणबाट स्वदेश फर्किएका थिए । तर स्वदेश फर्किएको पाँच दिन नबित्दै शक्तिशाली राष्ट्रपति चाउसेस्कु परिवारसहित मारिए ।

२५ बर्षदेखि कम्युनष्टि पार्टीको महासचिव रहेका र १५ वर्षदेखि शक्तिशाली राष्ट्रपति रहेका चाउसेस्कुको अन्त्य र कम्युनिष्ट पार्टीलाई एउटा शहरबाट शुरु भएको सत्ता विरोधी अराजक भीडले सदाका लागि समाप्त पारिदियो ।

डिसेम्बर १८ मा ईरानको राजकीय भ्रमणमा निस्कनु अघि चाउसेस्कुले आफ्नी पत्नी तथा मातहतका निकायलाई तिमीसोरा शहरमा बढ्दै गरेको सत्ता विरोधी अराजकतालाई दमन गर्न निर्देशन दिएका थिए । तर २० तारिखमा उनी स्वदेश फर्किदा अराजक भीड राजधानी बुखारेस्टमै प्रवेश गरिसकेको थियो ।

डिसेम्बर २१ मा चाउसेस्कुले राजधानी बुखारेस्टमा आमसभा राखे । हजारौं मानिसबीच उनले समाजवादको बखान गरेको ८ मिनेटमै उनीमाथि ढुंगामुढा बर्सिन थाल्यो । उनी त्यहाँबाट भागेर कम्युनिष्ट पार्टीको हेडक्वाटर छिरे जहाँ केन्द्रीय समितिका अरु सदस्य पनि बसिरहेका थिए । भीडले घेरा हाल्यो । सुरक्षाकर्मीले सकेको दमन गरे । रातभरमा कम्युनिष्ट पार्टीको मूख्यालयको भीड नियन्त्रण त भयो तर डिसेम्बर २२ को उज्यालो हुँदा नहुँदै राजधानी बुखारेस्ट पूरै उल्टिएर सडकमा आयो ।

भीड ढोका फोरेर कम्युनिष्ट पार्टीको हेडक्वार्टरभित्र छि¥यो । राष्ट्रपति चाउसेस्कु बालबाल बचेर छतमा रहेको हेलिकप्टर लिएर परिवारसहित गृहगाउँतर्फ भागे । उनका रक्षामन्त्रीले आत्महत्या गरे, अघिल्लो दिनसम्म पूर्वी युरोपकै आइडल र शक्तिशाली ठानिएको कम्युनिष्ट पार्टी क्षणभरमै भताभुङ्ग भयो ।

हेलिकप्टरमा गृहगाउँ पुगेका चाउसेस्कुलाई पुलिसले नियन्त्रणमा लियो । डिसेम्बर २३ मा अराजक भीडभित्रैबाट आपत्कालिन समस्या समाधान मोर्चा बन्यो । समातेर ल्याईएका राष्ट्रपतिलाई डिसेम्बर २५ क्रिसमसको दिन अदालतमा पेश गरियो । अदालतले तत्काल मृत्युदण्डको सजायँ दियो, उनी र उनको परिवार तथा सहयोगी गरी ४ जनालाई । चाउसेस्कुको सुरक्षामा खटिएका अंगरक्षकलाई नै आदेश दिइयो कि एक एक गरेर तत्काल गोली हाने । चाउसेस्कुले आफूहरु सामूहिक रुपमा मर्न पाउनुपर्ने माग गरे । उनको ईच्छा बमोजिम अदालत बाहिर निकालेर चारै जनालाई एकै ठाउँमा बाँधेर भित्तापट्टि फर्काएर गोली ठोकियो । यी सबै दृष्य सोही दिन साँझ राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरियो ।

न्युज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछानेको पक्षमा चितवनमा उर्लिएको जनसागरलाई केही मानिस र खासगरी सत्तारुढ दल नेकपाका कार्यकर्ता तथा केही पत्रकारले समेत विवेकहीन भीड, भेडा समूह, राजावादी जस्ता अपमानजनक विम्ब प्रयोग गरेर नजरअन्दाज गर्न खोजिरहेको सन्दर्भमा माथिको प्रसंग उल्लेख गर्नु सान्दर्भिक देखिएको हो । नेतृत्वविहीन भीडको शक्ति कति हुन्छ र के के गर्न सक्छ भन्ने अकाट्य उदाहरण हो रुमानियाको उक्त घटना ।

रवि लामिछानेको पक्षमा उर्लिएका मानिस कसैको उक्साहटमा वा प्रलोभनमा परेका होइनन् । चितवनको ३७ डिग्रीको घाममा स्वस्फूर्त रुपमा हजारौंको संख्या जसरी मानिस जम्मा भए एक जना टेलिभिजन प्रस्तोताको पक्षमा त्यो कुनै चानचुने शक्ति होइन । धन्य, लामिछाने धरौटीमा रिहा भएकोले भीड उनका कुरा सुनेर चूपचाप घर फर्कियो ।

त्यसको विपरित भईदिएको भए ? के यो राज्यले नियन्त्रण गर्न हिम्मत राख्थ्यो ? वा त्यसैगरी मानिस देशब्यापी रुपमा सत्ताविरुद्ध उत्रिएका भए राजावादी, बेरोजगारको भीड वा भेडा जमात भनेर धारे हात लगाएर मात्रै शान्त पार्न सकिन्थ्यो ? सत्ताधारीहरु निकै ठूलो भ्रममा रहेको प्रतित हुन्छ उनका कार्यकर्ताका प्रलाप सुन्दा । मानौं कि उनीहरुलाई पाँच वर्ष कसैले औंला ठड्याउन पनि पाउँदैन ।

जनता कसैको पेवा हुदैन भन्ने पनि बलियो प्रमाण हो रवि लामिछाने प्रकरण । त्यही चितवनमा तिनै जनताले दिएको मतबाट जितेका होइनन् प्रचण्डले चुनाव ? अहिले उनीहरुको विपक्षमा उत्रिने वित्तिकै तिनै मानिस भेडा भए ? आफ्नो पक्षमा रहुञ्जेल महान न्यायप्रेमी जनसमुदाय हुने, विपक्षमा उभिनासाथ भेडा हुन्छ ? जनताको यो भन्दा ठूलो अपमान अरु हुन सक्दैन । सत्ताधारी दलका नेता कार्यकर्तामा रहेको दम्भको प्रतीक वा उनीहरु भित्र बढ्दै गएको त्रास प्रकट भएको अर्थमा पनि बुझ्न सकिन्छ उनीहरुको प्रलापलाई ।

अर्कोतर्फ यस प्रकरणमा लामिछानेविरुद्ध प्रस्तुत हुनेहरुमा पत्रकारहरुको समूह पनि ठूलै देखियो । लामिछानेको पत्रकारिता, प्रस्तुति वा उनका दोषहरु केलाएर होइन कि त्यो हिजो आएको मान्छेको यत्रो चर्चा ? साइजमा ल्याउनु पर्छ भन्ने मानसिकताबाट पत्रकारहरु प्रस्तुत भएको पाइन्छ । त्यो क्रम अहिले पनि चलिरहेको छ । यसले नेपालका पत्रकाहरुको मानसिक दरिद्रपन त झल्काउँछ नै त्यसमाथि आफूले गर्न नसकेको कुण्ठा पनि ब्यक्त भएको हो भन्ने प्रष्ट छ । जुनसुकै पेशामा कसले कति वटा भोटो फटायो भन्ने विषयले अर्थ राख्दैन । कसले के दियो भन्ने विषयकै मूल्यांकन हुन्छ । पत्रकारितामा बिताएका वर्षको हिसाब गरेर बस्नुको के अर्थ ? नयाँ पुस्ता इतिहासमा होइन, वर्तमानसँग बाँच्छ । रवि लामिछानेले त्यही वर्तमानमा भइरहेका घटिरहेका विषयलाई पस्किरहे आफ्नो कार्यक्रम मार्फत ।

नेपाली पत्रकारिता जगत र खासगरी मूलधारको मिडिया दावी गर्नेहरुले रवि लामिछाने प्रकरणबाट सोच्नुपर्ने विषय के हो भने उनीहरुले अहिले गरिरहेको पत्रकारिता देश र जनतासँग कति जोडिएको रहेछ त ? जनताका समस्यासँग उनीहरुको पत्रकारिता जोडिएको हुँदो हो त लामिछाने एक जना ब्यक्ति यसरी रातारात हिरो बन्नु पर्ने अवस्था पक्कै आउने थिएन । देशमा यति धेरै विकृति र विसंगती छन् कि मानिसहरु पाइलैपिच्छे पीडित छन्, पलपल मरिरहेका छन् ।

जनतालाई संविधान संशोधन हुन्छ कि हुदैन भन्नेसँग कुनै सरोकार छैन, उनीहरुलाई सागको भाउ किन बढ्यो भन्ने विषयसँग सरोकार छ । जनतालाई सत्य निरुपण आयोगमा को आउँछ भन्नेसँग होइन पीडकले दण्ड पाएको र आफुले न्याय पाएको सुनिश्चित गर्नु छ । विदेशमा गएका आफ्ना छोराछोरी भाईभतिजा, दिदीबैनी सुरक्षित फर्कन्छन् कि फर्किदैनन् भन्नेसँग सरोकार छ । जनतलाई विवाहिता महिलालाई कस्तो नागरिकता दिने भन्ने विषयसँग भन्दा निर्मला पन्तहरुले न्याय नपाउने अवस्था किन आयो भन्ने विषयमा चासो छ ।

जनतालाई नेताहरुको समाजवादको प्रलापसँग होइन, आफ्नो भान्सा कति महंगियो वा पढाई सकेर कुन देशमा गएर पेट पाल्ने पेशा गर्ने भन्नेसँग चासो छ । गाउँ गाउँमा सिंहदरबार पुग्यो भनेर फलाक्नेहरुलाई जनता सोध्न चाहन्छन्, खसी बोका बेच्दा पनि किन कर तिर्नुपर्ने ? जुगौंदेखि बस्दै आएको घरको धुरी कर किन तिर्नुपर्ने ? हो, मूलधारका मिडिया यस्तै अनगिन्ती विषयबाट टाढा मात्रै होइन, धेरै टाढा रहँदै आएका छन् । त्यसैले भुईमान्छेहरुले रवि लामिछानेलाई रविन हुड ठानेका हुन् । चेतना भया !इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार