‘देशकै नमूना र समृद्ध गाउँपालिका बनाउछौँ ‘

एक नगरपालिका तथा सात वटा गाउँपालिका रहेको सगरमाथाको जिल्ला सोलुखुम्बुको तल्लो भेगमा पर्ने सबै भन्दा ठूलो गाउँपालिका थुलुङ दूधकोशी गाउँपालिका फराकिलो भूगोलमा छ । यस गाउँपालिकामा शिक्षा, स्वास्थ्य तथा विकास निर्माणको अनगिन्ती चुनौतीका चाङ छन् । चार वर्षअघि भएको स्थानीय तहको निर्वाचनपछि यस गाउँपालिकामा माओवादी केन्द्रबाट असिम राई निर्वाचित हुनु भएको थियो । गाउँपालिका प्रमुख राईसँग पत्रकार सन्तोष राउतले गर्नुभएको कुराकानीको सम्पादित अंश :

तपाई निर्वाचित भएको चार वर्ष बित्यो, जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका के गर्दैछ ?

सङ्घीयता कार्यन्वयनको मुख्य आधारको रुपमा रहेको स्थानीय तहको निर्वाचन भएको चार वर्ष भएको छ । धेरै जनअपेक्षा, उत्साह र आकाङ्क्षाको बिचमा हामी जनताको नजिकको सरकारको प्रतिनिधिको रुपमा जनसेवा गर्ने ऐतिहासिक अवसर हामीले प्राप्त गरेका छौं । मुल रुपमा थुलुङ दूधकोसी गाउपालिकाले यो अवधिमा आफ्नो पालिकालाई समृद्ध बनाउन दीर्घकालीन सोचका साथ कम्तिमा ५० वर्षसम्म उत्तिकै सान्दर्भिक हुने गरि पुर्वाधार विकास धमाधम गरिरहेको छ ।

जस्तो हामी निर्वाचित भएको पहिलो वर्ष नै गाउँपालिकाको आफ्नै सुबिधा सम्पन्न प्रशासकीय भवन तथा विषयगत कार्यलय निर्माण गरि सेवा प्रवाह गरेका छौँ । कतिपय पालिकाहरुले अझै केन्द्र तोक्न नसकेको अवस्थामा गाउँपालिकाको नामाङ्कन र केन्द्र तोक्ने काम छ महिनाभित्रै सर्वसम्मत गरेका छौँ ।

५० शैयाको दूधकोसी सामुदायिक अस्पताल निर्माण सम्पन्न हुने क्रममा रहेको छ । प्रदेश नं. १ कै पहिलो र एकमात्रै वहुप्राविधि शिक्षालय सफल सञ्चालन गर्न सफल भएका छौँ । जसमा हाल सिभिल इन्जिनियरिङ तीन बर्षे डिप्लोमा तहको पढाइ भैरहेको छ । वर्षेनि आवश्यकताका आधारमा अन्य विषय थप गर्दै लगिने र प्रदेसकै सबैभन्दा ठुलो वहुप्राविधिक शिक्षालय बनाइने योजनाअनुसार अघि बढीरहेका छौँ ।
त्यस्तै, जिल्लाकै एकमात्र खेलग्राम निर्माण भैरहेको छ भने पालिका केन्द्रसम्म कालोपत्रे गरिने योजनाका साथ प्रत्येक वडाहरुलाई केन्द्रसँग सडक बाटोले जोडिएको, जिल्लाको गाउँपालिका मध्ये सबैभन्दा अगाडी बैङ्क स्थापना गरि सेवा प्रवाह गरिएको, उज्यालो पालिका घोषणा गरि लागु गर्न धमाधम ग्रामिण विद्युतीकरण भैरहेको, संघ र प्रदेस सरकारको समन्वयमा पालिका अन्तर्गतका नदी खोलाहरुमा अरबौँ रुपियाँ बराबरको मोटरेवल पुल निर्माण भइरहेको, हरेक वडामा खानेपानीको समस्यालाई दीर्घकालीन समधानको लागि पानीको स्रोतको पहिचान गरि खानेपानी योजना बनाइएको छ ।

जनताले प्रत्यक्ष अनूभुत गर्ने कामहरु के के भए ?

माथि भनिएका बाहेक हामीले सयौँ जनजीविकासँग जोडिएका काम गरेका छौँ । जसमा वडा कार्यालयहरु, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायतका आवश्यक कार्यालयहरुका लागि आवश्यक पर्ने करोडौँ मूल्य बराबरको सयौँ रोपनी जग्गा निःशुल्क व्यवस्थापन भएको, बैङ्क स्थापना, गाउँपालिकालाई आवश्यक पर्ने ऐन कानून तथा कार्यविधि निर्माण गरी स्थानीय सरकारको रुपमा प्रभावकारी काम कार्वाही सूचारु गरिरहेको, गाउँपालिकाको केन्द्रसँग ९ वटै वडाहरु जोडने सडक ट्रयाक खोल्ने काम सम्पन्न गरिएको, गाउँपालिकालाई अन्य पालिका तथा जिल्ला जोड्न रणनीतिक बिन्दुहरुबाट सडक सञ्जाल विस्तारको काम गरिएको, आमा सुरक्षा कार्यक्रम लागु गरी मातृ मृत्यूदर शून्यमा झार्न सफल भएको, शिशु मृत्युदर घटाउन नव शिशु कार्यक्रम सञ्चालन गरिएको, शैक्षिक सुधारको वर्ष घोषणा गरी शैक्षिक उन्नयनको लागि विद्यालयहरु मर्ज, नयाँ विद्यालयको स्थापना, शिक्षक दरवन्दी मिलान, शिक्षक सरुवा तथा गाउँ शिक्षा ऐनको अधिनमा रही विद्यालय व्यवस्थापन समितिको गठन, विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था लगायतका शैक्षिक सुधारको कार्यक्रमहरु शुरु गरिएको, गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्न आवश्यक भएको हुनाले मुक्ली बहुमुखी क्याम्पस स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको, संघीय सरकार र जनप्रतिनिधिहरुका समन्वयमा ग्रामिण विद्युतिकरणको काम तिव्र रुपमा थालनी गरिएको, पञ्चन मैकुको दूधकोशी नदीबाट पानी लिफ्टिङ्ग गरी सबै घरधुरीलाई पर्यापत खानेपानी/सिचाईंँको पहुँच पुग्ने गरी कार्यक्रम शुरु गरिएका, विभिन्न खोलामा मोटरेबल तथा झोलुङ्गे पुलको निर्माण शुरु भएको, आवश्यकता तथा औचित्यताको आधारमा पकेट, ब्लक तथा जोन छनोट गरी एकिकृत तथा व्यवसायिक कृषि प्रणाली लागु गरिएको, रासायनिक मल र विषादीको सट्टा प्राङ्गारिक मल र जैविक विषादीको खपत बढाउन आवश्यक कार्यक्रम बनाइएको, गाउँपालिकामा बसोबास गर्ने सबै जातिहरुका धर्म, संस्कार, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन, देवाली घर निर्माण,मन्दिर, गुम्बा, भूमेस्थान, चर्च आदिको निर्माण तथा मर्मत संभार गर्न पर्याप्त बजेटको व्यवस्थापन गरिएको, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक हिसाबले महत्वपूर्ण स्थानहरु जालिम पोखरी, सुकेपोखरी, डाँडाखर्क, घुम्नेपानी लगायतका सुन्दर तथा मनोरम ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन कार्यक्रमहरु ल्याइएको छ ।

गाउँपालिकामा देखिएका मुख्य समस्याहरु के छन् र समाधानका लागि कुन कुन तहको प्रयास आवश्यक छ ?

हाम्रो पालिकामा मात्र होइन देशैभरिका स्थानीय तहहरुमा देखिएका समस्या भनेको संविधानले ग्यारेन्टी गरेको २२ वटा एकल अधिकार, संघ र प्रदेससँगको कतिपय साझा अधिकारहरु स्वतन्त्र रुपमा प्रयोग गर्न नपाउनु, संघ सरकारले स्थानीय तहलाई आफ्नो एउटा इकाईको रुपमा व्यवहार गर्नु, स्थानीय तहलाई आवश्यक कर्मचारी उपलब्ध नगराउनु, चाहिएको कर्मचारी नियुक्त गर्न पनि नदिनु, वित्तिय हस्तान्तरण अन्तर्गत प्राप्त समानीकरण अनुदान घटाएर सशर्त बढाउनु जस्ता कारणले गाउँपालिकाले आफ्नो आवश्यकता र औचित्यको भरमा योजना तर्जुमा गरेर लागु गर्न गाह्रो भएको छ ।

निर्वाचनका क्रममा गरेका प्रतिबद्धता हालसम्म कति पूरा भए ? पालिकाको उन्नतिको लागि अल्पकालीन र दिर्घकालीन योजना के के छन् ?
निर्वाचनको क्रममा मतदाता माझ गरेको प्रतिबद्धतालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । कतिपय अवस्थामा प्राथमिकताहरु फेरिदा रहेछन । मुलरुपमा प्रतिबद्धता गरिएका भन्दा बढी काम गरेको अनुभुति गरेका छौँ । जनताको शासक होइन सेवक बन्छौँ भनिएको थियो आज सेवा प्रवाहमा कुनै कन्जुस्याइँ गरेका छैनौँ । अल्पकालिन योजना अन्तरगत तत्काल आवश्यक पर्ने कामहरु सहज रुपमा सम्पादन भइरहेका छन् । जस्तो वडा र गाउँपालिकाबाट दिनुपर्ने सेवाहरु सहज र चुस्त तरिकाले सेवाग्राहीलाई दिने, भैपरि आउने कामहरु तदारुकताका साथ गर्ने, शिक्षा, स्वास्थ्यहरुको आधारभूत कामहरु, कृषि पशु सेवा, खानेपानी सिँचाईका कामहरु माग र आवश्यकताका आधारमा गरिरहेका छौँ । दीर्घकालिन योजना अन्तर्गत थुलुङ दूधकोसी गाउँपालिकालाई सोलुखुम्बु जिल्लाकै स्वास्थ्य, शिक्षा, खेलकुदको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य रहेको छ । जसका निमित्त दूधकोसी सामुदायिक अस्पताल, वहुप्राविधिक शिक्षालय, नमुना खेलग्राम निर्माण तीब्र गतिमा भइरहेको छ । साथै नागरिकहरुको आर्थिक तथा सामाजिक विकासका लागि कृषिजन्य उद्योगहरुको स्थापना, उर्जा जलस्रोतको अधिकतम उपयोग गरेर रोजगारी सृजना गर्ने समेत रहेको छ ।

तपाईंको पाँच वर्षे कार्यकालमा गाउँपालिकाको स्वरूप कस्तो बनाउने सोचमा हुनुहुन्छ ?

देसकै नमुना तथा समृद्ध गाउँपालिका निर्माण गर्ने सोचलाई साकार पार्न कम्तिमा ५० वर्षसम्म उत्तिकै सान्दर्भिक हुने पुर्वाधारका जगहरु निर्माण हुनेछन् । थुलुङ दूधकोशी गाउँपालिका देशकै नमूना र समृद्ध गाउँपालिका बनाउने सपना लिएका छौँ । भौगोलिक विकटताकाबिच माथिल्ला निकाय समेतको समन्वयमा हामीले यस सपनालाई पूरा गर्न हामी दिनरात लागिरहेका छौँ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टसम्म आइपुग्दा नियन्त्रणमा के कस्ता काम गर्नुभयो?

शुरुवातका दिनदेखिनै कोरोना रोकथाम, उद्दार, उपचार र राहत वितरणमा थुलुङ दूधकोसी गाउँपालिका अब्बल साबित भएको छ । पहिलो चरणमा पालिका बाहिरका आफ्ना नागरिकलाई निःशुल्क उद्दार, दीर्घरोगीहरुलाई निःशुल्क औषधी वितरण, गरिब तथा न्युन आय भएका किसान मजदुरहरुलाई खाद्यन्न लगायत आवश्यक सामग्रीहरु वितरण गरिएको थियो भने दोस्रो भेरियन्टको प्रभावबाट प्रभावित आफ्ना नागरिकहरुलाई सङ्क्रमणबाट बचाउन पालिकामै अस्पताल सञ्चालन गरि उपचार गरिएको छ । नेपालभरिकै ठुला अस्पतालमा समेत अक्सिजनको अभाव भइरहेको बेला अक्सिजनको व्यवस्था गर्न हामी सफल भएका थियौँ । गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइ सङ्क्रमितलाई निःशुल्क अस्पताल ल्याउने पठाउने काम गरियो । घर घरमा गएर औषधी वितरण, उपचार तथा मनोपरामर्श सेवा प्रदान गरियो ।

लामो समयपछि स्थानीयस्तरमा जनप्रतिनिधिका रुपमा काम गर्दा जनताको प्रतिक्रिया कस्तो पाउनुभयो?

१५ वर्षदेखि कर्मचारीको भरले धानिएको तत्कालीन स्थानीय निकाय नयाँ स्वरुपमा परिणत भै स्थानीय सरकारको गठन भएपछि सिंहदरवार केन्द्रित जनताको अधिकार आफ्नै आँगनमा पाउने आशामा जनता अत्यन्त खुशी भएकाछन् । संविधानले परिकल्पना गरे जस्तो पर्याप्त स्रोत र अधिकारको उपयोग गरि सेवा प्रवाह गर्न पाए जनता बढि लाभान्वित हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार