सांसदलाई जन्मकैद

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ। न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको हो।

चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ।  उनीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ। ती मध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ। तहाँवर अलि,विसराम चौधरी र रामनरेश चौधरीले भने  सफाई पाएका छन्।

त्यस्तै कैलाली अदालतले दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारू, विधान चौधरी, पुल्कीराम चौधरी, रामप्रसाद चौधरी, लक्ष्मण थारू,लाहुराम थारू, रामकुमार कठरिया,सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा,प्रेम बहादुर चौधरी र किसनलाल चौधरीलाई ३ वर्ष कैद गरेको छ।  यी मध्ये पुल्कीराम चौधरी बाहेक ११ जना पक्राउपछी जेल बसेको ३ वर्ष पुगिसकेकाले आजै  मुक्त हुनेछन्। पुल्कीराम जेलपरेको भने फागुन ३० गते ३ वर्ष पुग्ने छ। अभियुक्त मध्ये करण चौधरीलाई बालबालिका ऐन अनुसार ६ महिना जेल हुने फैसला अदालतले गरेको छ। उनी पनि आजै थुनामुक्त हुने छन्।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। सोही मुद्दामा चौधरी सहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो। भने ३१ जना फरार छन्। फरार रहेका ३१ जनाको मुद्दा अहिलेलाई मुल्तवी (पक्राउ परेपछि फाइल खोल्नेगरि स्थगीत) मा राखिएको छ।

पुर्पक्षका लागि जेलमै रहँदा उनले  २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए।  उनी कैलाली १ बाट भारीमत ल्याएर सांसद निर्वाचित भएका थिए। उनले २ महिना अघि संसदको शपथ लिएका थिए। जन्मकैदको फैसला भएपछी उनको सांसद पद खारेज भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार