प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन्।
दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट देखिएको जनाइएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित यामलाल कँडेल, गोरखबहादुर बोगटी, प्रकाश ज्वाला, मायाप्रसाद शर्मा, गुलाबजंग शाह, चन्द्रबहादुर शाहीलगायत नेताले प्रधानमन्त्री ओलीसँग छलफल गरे। छलफलमा ओलीले प्रदेश सरकार भनेको संघीय सरकारको प्रशासनिक एकाइ भएकाले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि संघीय प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै गर्नुपर्ने बताएका थिए।
कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले कर्णालीको विवाद समाधानका लागि अग्रसरता लिएका थिए। प्रधानमन्त्री ओलीले सरकार हेर्ने र दाहालले पार्टी हेर्ने जिम्मेवारी बाँडफाँट भएपछि दाहालले कर्णालीमा देखिएको विवाद समाधान गर्न भनेर दुवैतर्फका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए।नागरिक दैनिकबाट